प्रसारण शाखाको कार्यहरु

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७५।०३।०१ पत्रानुसार यस विभागको महानिर्देशकलाई रेडियो ऐन¸ २०१४ तथा रेडियो सञ्चार (लाइसेन्स) नियमावली¸ २०४९ बमोजिम सबै प्रकारका लाइसेन्सहरू दिने¸ नवीकरण गर्ने¸ विवरण बदल्ने¸ प्रतिलिपि जारी गर्ने¸ निरीक्षण गर्ने-गराउने¸ रेडियो यन्त्रहरू/उपकरणहरूको लगत कट्टा गर्ने¸ लाइसेन्स खारेज गर्ने र आवश्यक रेडियो यन्त्रहरू/उपकरणहरू खरिद एवं आयात गर्न सिफारिस गर्ने कार्यहरू तथा राष्ट्रिय प्रसारण ऐन¸ २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली¸ २०५२ बमोजिम सबै प्रकारका प्रसारण संस्थाहरूलाई प्रसारण एवं वितरण प्रणालीका इजाजतपत्र/अनुमतिपत्र जारी गर्ने¸ नवीकरण गर्ने¸ विवरण बदल्ने¸ प्रतिलिपी जारी गर्ने¸ खारेज गर्ने¸ अनुगमन गर्ने-गराउने¸ आवश्यक उपकरणहरू खरिद एवं आयात गर्न सिफारिस गर्ने कार्यहरू निर्णय गरी कार्य सम्पादन गर्ने गरी नेपाल सरकार (मा. मन्त्री स्तर) बाट मिति २०७५।०२।३१ मा निर्णय भई अधिकार प्रत्यायोजन भएको देखिन्छ । उक्त अधिकार प्रयोग गरी कार्य सम्पादन गर्न मिति २०७५।०१।०४ गतेमा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार यस विभागको नाम “सूचना विभाग” बाट “सूचना तथा प्रसारण विभाग” तथा प्रसारण शाखा सहितको संगठन संरचना कायम गरिएको छ ।
मिति २०७५।०३।०१ बाट प्रसारण शाखाबाट कार्य सुचारु भई सम्बन्धित सेवाहरूको प्रभावकारी कार्यसम्पादन थालनी भएको हो।

प्रसारण शाखाले सम्पादन गर्ने मुख्य कार्यहरु देहाय बमोजिम रहेका छन्:-

राष्ट्रिय प्रसारण ऐन¸ २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली¸ २०५२ बमोजिमका कार्यहरु:

१. फ्रिक्वेन्सी मोडुलेसन प्रसारण प्रणालीको स्थापना गरी कार्यक्रम प्रसारण गर्ने (एफ. एम. रेडियोको) इजाजतपत्र जारी गर्ने ।
२. स्याटेलाइट¸ केबुल वा अन्य सञ्चर माध्यमद्वारा कार्यक्रम प्रसारण गर्ने (स्याटेलाइट रेडियो¸ भू-स्तही टेलिभिजन¸ भू-उपग्रह टेलिभिजन¸ केबुल टेलिभिजन आदिको) इजाजतपत्र तथा अनुमतिपत्र जारी गर्ने ।
३. भू-उपग्रह प्रसार केन्द्रको स्थापना गरी वा स्याटेलाइट वितरण प्रणालीको माध्यमबाट कार्यक्रम प्रसारण प्रसारण गर्ने¸ विदेशी कार्यक्रम डाउनलिंक गर्ने तथा सिग्नल वितरण गर्ने कार्यको लागि इजाजतपत्र/अनुमतिपत्र जारी गर्ने ।
४. एनालग केवलहरुलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न स्वीकृति दिने ।
५. इजाजतपत्र वा अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थालाई र नियमित प्रसारणको स्वीकृति दिने तथा प्रसारण प्रारम्भ गर्ने अवधि थप गर्ने ।
६. इजाजतपत्र /अनुमतिपत्रको विवरण बदल्ने¸ नवीकरण गर्ने तथा प्रतिलिपी जारी गर्ने ।
७. विदेशी प्रसारण संस्थालाई प्रसारण समय उपलब्ध गराउने तथा नियमित प्रसारणको स्वीकृती दिने ।
८. इजाजतपत्र तथा अनुमतिपत्र रद्ध भइसकेको प्रसारण संस्थाहरूका हकमा सजाय आदेश सम्बन्धी कार्य गर्ने ।
९. विभागमा जडित Multi-viewer Streaming and Monitoring System बाट विदेशी च्यानलहरूको विज्ञापन प्रसारण भएको/नभएको नियमित रूपमा अनुगमन गर्ने कार्य ।
१०. प्रसारण संस्थाहरूको स्थलगत निरीक्षण/अनुगमन तथा छानबिन गर्ने ।
११. अनलाइन टेलिभिजन¸ओभर द टप (OTT) र भिडियो अन डिमाण्ड (VoD) को इजाजतपत्र जारी¸ नवीकरण¸ संसोधन¸ प्रतिलिपी जारी निर्णयानुसार गर्ने र आवश्यक उपकरणहरू आयात सिफारिस गर्ने ।
१२. विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) को स्वीकृती प्रदान गर्ने।
१३. प्रसारण एवं वितरण तथा विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) संस्थालाई विदेशी मुद्राको सिफरिशको प्रकृया गर्ने ।
१४. CAS/SMS Monitoring System को सञ्चालन गरी वितरण प्रणालीहरू Digital Cable Operator¸ Local Cable Operator¸ IPTV¸ OTT¸ MMDS¸ DTH र DTTB को CAS/SMS को उचित प्रयोगको अवस्थाको अनुगमन¸ अवलोकन र नियमन गर्ने ।
१५. वितरण प्रणालीहरू Digital Cable Operator¸ Local Cable Operator¸ IPTV¸ MMDS¸ DTH र DTTB को CAS/SMS बाट Real-time सक्रिय ग्राहक संख्या (Active Users) र Set Top Boxes को लगत अध्यावधिक गर्ने ।

रेडियो ऐन¸ २०१४ तथा रेडियो सञ्चार (लाइसेन्स) नियमावली¸ २०४९ बमोजिमका कार्यहरु:-

१. HF/VHF/UHF/SHF र सोभन्दा माथिका फ्रिक्वेन्सी ब्याण्डका चल-अचल रेडियो स्टेसनका रेडियो यन्त्र/उपकरणहरू¸ एरोनटिकल-एयरक्राफ्ट स्टेसन¸ रेडियो डिटरमिनेशन/नेभिगेशन स्टेसन¸ स्याटेलाइट रिसिभिङ्ग सिष्टम/स्याटेलाइट कम्युनिकेशन सिष्टम (अर्थ स्टेशन) ¸ लगायत दूरसञ्चार उपकरणहरू बाहेकका अन्य सबै रेडियो यन्त्रको लाइसेन्स जारी गर्ने एवं रेडियो उपकरणको आयात सिफारिस गर्ने ।
२. एमेच्योर रेडियो सञ्चालकको परीक्षा सञ्चालन गर्ने एवं एमेच्योर रेडियोको लाइसेन्स जारी गर्ने ।
३. रेडियो उपकरण बिक्री-वितरण गर्न तथा रेडियो यन्त्र उत्पादन गर्नका लागि लाइसेन्स जारी गर्ने ।
४. रेडियो यन्त्रको लाइसेन्स नवीकरण¸ रेडियो यन्त्रको हक-हस्तान्तरण र लगत कट्टा¸ लाइसेन्समा विवरण बदल्ने तथा प्रतिलिपि जारी लगायतका कार्य गर्ने ।
५. रेडियो स्टेशनमा प्रयोग भएका रेडियो यन्त्रहरु एवं सञ्चार उपकरणहरुको स्थलगत प्राविधिक निरीक्षण गर्ने ।
६. लाइसेन्स रद्द भइसकेको व्यक्ति/संस्थाहरूको हकमा सजाय आदेश सम्बन्धी कार्य गर्ने ।
७. नेपाल भ्रमण गर्न¸ हिमाल आरोहण गर्न¸चलचित्र/ वृत्तचित्र छाँयाकन गर्न आउने विदेशी नागरिक वा संघ-संस्थाहरूले साथमा ल्याउने रेडियो यन्त्र/ सञ्चार उपकरणहरूको अस्थायी लाइसेन्स जारी गर्ने र रेडियो यन्त्र/ सञ्चार उपकरणहरूको आयात सिफारिस गर्ने ।
८. नेपाल भ्रमणमा आउने महत्त्वपूर्ण व्यक्तित्वहरूको सुरक्षार्थ प्रयोग हुने रेडियो यन्त्र/ सञ्चार उपकरणहरूको लाइसेन्स जारी गर्ने र आयात सिफारिस गर्न सहमति दिने ।
९. नेपालको सुरक्षा निकायहरू (नेपाली सेना¸ नेपाल प्रहरी¸ शस्त्र प्रहरी बल¸ राष्ट्रिय अनुसन्धान विभाग) ले प्रयोग गर्ने रेडियो सञ्चार उपकरणहरूको लाइसेन्स जारी गर्ने¸ लगत कट्टा गर्ने¸ आयात सिफारिस गर्ने ।
१०. नेपालको सुरक्षा निकायहरूबाट विदेशमा शान्ति सेना वा सुरक्षा अभ्यासको लागि जाँदा साथ लिई जाने रेडियो सञ्चार उपकरणहरूको सिफारिस गर्ने तथा विदेशी सुरक्षा निकायहरू अभ्यासका लागि नेपाल भ्रमणमा आउँदा साथमा लिई आउने उपकरणहरूको लाइसेन्स जारी गर्ने र आयात सिफारिस गर्ने ।
११. नेपाल सरकारका निकाय एवं कार्यालयहरूका साथै नेपाल स्थित कूटनीतिक नियोगहरूले प्रयोग गर्ने रेडियो सञ्चार उपकरणहरूको लाइसेन्स जारी गर्ने¸ आयात गर्न एवं मर्मत गर्नका लागि सिफारिस गर्ने ।
१२. रेडियो यन्त्र उत्पादन गर्ने कम्पनीका लागि कच्चा पदार्थको रुपमा डिस्क्रिट (स-साना) उपकरणहरू¸ Circuit Board लगायत का अन्य उपकरणहरूको आयात सिफारिस गर्ने तथा आयात पश्चात् निरीक्षण गर्ने ।
१३. रेडियो यन्त्र बिक्री-वितरण गर्ने लाइसेन्स प्राप्त संस्था वा फर्मको लागि रेडियो सञ्चार उपकरणहरूको आयात सिफारिस गर्ने तथा आयात पश्चात् निरीक्षण गर्ने ।