वि.सं:
नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१
स्थापना
सूचना तथा प्रसारण विभागको स्थापना २०७५ वैशाख ४ गते नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णयानुसार भएको हो। छापा, अनलाईन तथा प्रसारण माध्यमका मिडियाको दर्ता र नवीकरण एवं रेडियो यन्त्र तथा भूउपग्रह माध्यमको नियमनकारी निकायका रुपमा २०७५ सालमा क्षेत्रविस्तार गरिएको भए पनि यो विभागको आफ्नो ऐतिहासिक पृष्ठभूमी पनि छ। विभिन्न कालखण्डमा यसको नाम प्रचार विभाग, प्रचार -प्रसार विभाग, प्रेस सुचना विभाग र सूचना विभाग रहेको थियो।
ऐतिहासिक पृष्ठभूमी
बि.सं. २००५ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरका पालामा "प्रचार विभाग" को स्थापना भयो । देशमा भएका विकासका काम र घटनासम्बन्धी विवरण बडाहाकिम मार्फत प्राप्त गरी प्रचार विभागका डाइरेक्टरले जाँच गरी प्रकाशन गर्न पठाइन्थ्यो । त्यस समयका गोरखापत्र, शारदा, उद्योग आदि साहित्यिक पत्रिका र युगवाणी, नेपाल पुकार जस्ता विचारप्रधान पत्रिकामा प्रचार विभागबाट जाँच भएर मात्र लेख रचना प्रकाशन हुन्थे । भारत तथा अन्य देशबाट आएका पत्रपत्रिकालाई हुलाक र थानकोटमा रोकी विभागमा ल्याएर जाँच गरेपछि मात्र सम्बन्धित प्रापकलाई बुझाइन्थ्यो । नेपालसम्बन्धी र नेपालमा छापिएका पुस्तकहरू पनि प्रचार विभागले जाँच्ने र आपत्तिजनक भए जफत गरिने र आपत्तिजनक नभए बजारमा बिक्रिका लागि पठाइने गरिन्थ्यो ।
२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि यस विभागलाई प्रचार-प्रसार विभाग' नाम दिई गृह मन्त्रालय अन्तर्गत राखिएको थियो । प्रजातन्त्रको बहालीपछि नेपालमा पत्रकारिता जगतमा विकासको ढोका खुल्यो । २००८ सालमा नेपाल छापाखाना र प्रकाशनसम्बन्धी ऐन र छापाखाना र प्रकाशन रजिष्ट्रेशन ऐन प्रकाशन भई लागू भए । २०१५ सालमा प्रेस कमिसनले नेपाली पत्रकारिताको विकासमा अनेकौ रचनात्मक सुझाव दिएको थियो । यसैअनुरूप पत्रपत्रिकाका प्रतिनिधिहरूलाई प्रमाणपत्र दिने निर्णय भएपछि प्रचार-प्रसार विभागबाट प्रमाणपत्र वितरण र २०१६ सालदेखि पत्रपत्रिकालाई लोक कल्याणकारी विज्ञापन प्रदान गर्ने कार्य प्रारम्भ भयो । विभागले नेपालको भौगोलिक अवस्था, इतिहास, पुरातात्विक सम्पदा, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज, चाडपर्व तथा नेपालका अन्य विविध पक्षसम्बन्धी सूचनाहरू नेपाल राज्यभित्र प्रचार-प्रसार गर्ने र विश्वसामु नेपालको पहिचान गराउने जस्ता उद्देश्य लिई विभिन्न सूचनामूलक र ज्ञानवर्धक्क पुस्तक पुस्तिका क्यालेण्डर प्रकाशन गर्ने, खरिद गर्ने, समाचार चित्र, वृत्तचित्र र कथानक चलचित्र बनाउने तथा प्रदर्शन गर्ने र त्यस्तै खालका लेख, रचनाहरू नेपाल पत्रिकामार्फत प्रकाशन गर्ने जस्ता कामहरू गर्न थाल्यो । विगतमा विभागले भाषण, सन्देश र घोषणाको साथसाथै तत्कालीन व्यवस्थाको प्रचार प्रसार गर्न मद्दत पुग्ने खालका बिभिन्न प्रकारका पुस्तक पुस्तिका, पोस्टर, फोल्डर, तस्वीर, सिनेमा, वृत्तचित्र होर्डिब बोर्ड आदि प्रशस्त मात्रामा तयार गरी प्रदर्शन तथा वितरण गर्ने कामहरू पनि विभागबाट भएको पाइन्छ ।
विस २०१८ साल देखि देशका शीर्षस्थ व्यक्तित्वहरूका तस्वीरहरू र विकास निर्माणका झलक देखाउने तस्वीरहरूको ब्लक बनाई प्रकाशन गर्न विभिन्न पत्र पत्रिकामा आवश्यक मात्रामा निःशुल्क वितरण गर्ने कार्यको पनि थालनी गरियो । नेपालमा आधुनिक छापा माध्यमको विकास नभएको अवस्थामा यस प्रकारको ब्लक बनाई वितरण गर्ने काम पत्रपत्रिकामा फोटो प्रकाशन गर्ने दृष्टिकोणले अति महत्वपूर्ण थियो । जुन फोटो पत्रकारिताको बिकासको आधारस्तम्भ हो । यसका साथै विभिन्न विद्वान् लेखकहरूबाट लिखित, अनूदित नेपालको भौगोलिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, कला, ज्ञानविज्ञान आदि विभिन्न विषयमा उपयोगी र ज्ञानवर्धक पुस्तक-पुस्तिकाहरू पनि यस विभागबाट प्रकाशन गरी सर्वसाधारणलाई निःशुल्क वितरण भएको पाइन्छ । यसै गरी आमा, हिजो आज र भोली तथा परिवर्तन जस्ता नेपाली कथानक चलचित्रहरू पनि यस विभागबाट निर्माण र प्रदर्शन भएका थिए । साथै वृत्तचित्रको निर्माण पनि सूचना विभागले गरेको थियो। नेपाली कथानक चलचित्र एवं वृत्तचित्रको विकासको इतिहासमा सूचना तथा प्रसारण विभागको योगदानलाई कोषेढुङ्गाको रूपमा लिन सकिन्छ ।
फोटोग्राफीतर्फ आफ्नै ल्याब स्थापना गरी राष्ट्रिय महत्वका समारोह, कार्यक्रम आदिको फोटो तत्कालै तयार पारी विभागले निःशुल्क वितरण गर्ने कार्यसमेत गरेको थियो । फोटो स्ट्याण्ड तयार गरी रमाइलो मेला, अलका मेला, नववर्ष मेला आदिमा विभागबाट फोटो प्रदर्शनी भएका थिए । बिदेशी राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको नेपाल भ्रमणको अवसरमा खिचेका सम्पूर्ण तस्वीरहरू क्याप्सनसहित एल्बममा राखीसम्बन्धित अतिथिको देशमा पठाउने गरिन्थ्यो । २०२१ सालमा समाचार एजेन्सी ए.एफ.पी.सँग सम्झौता गरी विश्वघटनाको खबर स्वचालित टेलिप्रिन्टरबाट निकाली त्यसको प्रतिलिपि बिभिन्न पत्रपत्रिकामा पठाउने कार्य गरिएको थियो ।
वर्तमान समयमा प्रधानमन्त्री, सञ्चारमन्त्री, समय समयमा नेपालको भ्रमणमा आउने मित्रराष्ट्रका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरूको तर्फबाट सम्बोधन गरिने पत्रकार सम्मेलनहरूको आयोजना गर्ने कार्यमा सूचना तथा प्रसारण विभागले पत्रकार समन्वयमार्फत् सहयोग गर्दै आएको छ । सरकारको औपचारिक फोटोग्राफरको रूपमा विभिन्न सरकारी समारोहका तस्वीर खिची पत्रपत्रिकालाई उपलब्ध गराउने र ती तस्वीरका अभिलेख राख्ने काम पनि सूचना विभागले गरेको छ । विभागले नेपाल सरकारको आधिकारिक क्यालेन्डर तथा डायरीको प्रकाशन र वितरण तथा पत्रकार तालिम, अन्तरक्रिया कार्यक्रम, गोष्ठी र छलफल आदिको आयोजना गरी पत्रकारको क्षमता बिकासमा योगदान पुर्याउँदै आएको छ ।
विभागले गर्ने मुख्य कामहरु
१. सरकारी सूचना संकलन र वितरण तथा महत्वपूर्ण अवसरको फोटोग्राफी,
२. छापा माध्यमका पत्रिकाको दर्ता स्वीकृति तथा अनलाईन माध्यमका पत्रिकाको दर्ता र नवीकरण,
३. आधिकारिक क्यालेण्डर, डायरी, मिडिया डाइरेक्टरी, नेपाल द्वैमासिक पत्रिका र अन्य सामग्रीहरु प्रकाशन,
४. प्रेस रजिष्ट्रारको कार्यालय सम्बन्धी कार्य : पत्रकार एवं पत्रपत्रिकाको अभिलेखिकरण,
५. श्रमजिवी पत्रकारको उजूरी उपर वार्ता मेलमिलाप तथा मध्यस्थताको माध्यमबाट सुनुवाई,
६. प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण,
७. रेडियो टेलिभिजन भूउपग्रह सम्बन्धी प्रसारक तथा वितरकको इजाजतपत्र तथा अनुमतिपत्र,
८. रेडियो यन्त्रको लाईसेन्स,
९. पत्रपत्रिका, रेडियो, टेलिभिजन, भूउपग्रह तथा रेडियोयन्त्र सम्बन्धी नियमन।
उद्देश्य:-
सूचना तथा प्रसारण विभागको उद्देश्य निम्नानुसार रहको छः
१. नेपाल सरकारका नीति एवं काम कारवाहीबारे सूचना प्रवाहित गर्ने,
२. देशमा स्वस्थ, मर्यादित, व्यावसायिक तथा संस्थागत पत्रकारिताको विकासका लागि उत्प्रेरित गर्ने,
३. पत्रकारिता क्षेत्रमा समर्पित श्रमजीवी पत्रकारहरुको हक हित र सुरक्षाको प्रत्याभूती गर्ने ।
४. रेडियो तथा टेलिभिजन प्रसारणलाई नियमित, व्यवस्थित र मर्यादित बनाउने, लाइसेन्स प्रदान गर्ने तथा रेडियो यन्त्र राखे, बनाउने र प्रयोग गर्ने कार्यको नियमन गर्ने ।
विभागको कार्यक्षेत्रः
१. सूचना व्यवस्थापन,
२. पत्रकार र पत्रकारिता क्षेत्रसम्बन्धी (प्रेस प्रमाणपत्र) जारी गर्ने,
३. पत्रकार तालिम,
४. फोटो संकलन, अभिलेखिकरण र वितरण,
५. रेडियो ऐन, २०१४ तथा रेडियो सञ्चार (लाईसेन्स) नियमावली, २०४९ बमोजिम सबै प्रकारका रेडियो उपकरणहरुको लाईसेन्स दिने,
६. राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा रष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम सबै प्रकारका प्रसारण संस्थाहरुलाई प्रसारण इजाजत दिने, र
७. बिभिन्न पुस्तक प्रकाशन गर्ने कार्य ।